काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) तथा राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीका मातहतका सबै संरचनालाई स्पष्ट निर्देशनसहित परिपत्र जारी गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधानअनुसार एक सिटका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न सकिने व्यवस्था छ । जिल्ला तहबाट योग्यता पुगेका सम्भावित व्यक्तिहरूको सूची केन्द्रमा पठाइनेछ, सहमति नभए बहुमतका आधारमा नाम चयन गर्न सकिनेछ ।
तल्लो तहबाट आएका प्रस्तावहरूको समीक्षा गरी अन्तिम उम्मेदवार चयन गर्ने जिम्मेवारी संसदीय समितिलाई रहनेछ । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैका लागि आकांक्षीहरूको नाम संकलन तथा सिफारिस प्रक्रियालाई पनि पार्टीले यही मोडेलअनुसार अघि बढाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची पेस गर्न १८ र १९ पुस मिति तोकेको छ । यसैगरी, प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन २१ फागुनमा हुने तय भएको छ ।





















प्रतिक्रिया