Logo

प्रमुख समाचार

प्रधानन्त्रीले दलका नेताहरूसँग भनिन्: आगजनी गर्ने बानी पर्दा भोलिका दिनमा जो-कसैलाई जलाउने चिन्ता भयो



 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा आयोजित निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
यो बैठकमा प्रधानमन्त्रीले भदौ २३ र २४ का हिंसात्मक घटनाबारे चिन्ता व्यक्त गर्दै आगजनी गर्ने प्रवृत्ति बढे भोलि जोकोहीले जो–कसैलाई जलाउन सक्ने अवस्था सिर्जना हुने बताइन्।
सेनाले आफ्नो काम सुरु गरिसकेको बताउँदै उनले प्रहरीले कानुनी शासन कायम राख्न निरन्तर काम गरिरहेको बताइन् । ‘भदौ २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो। यो किन र कसले गर्‍यो भन्ने विषय अध्ययनले बताउनेछ,’ प्रधानमन्त्रीले भनिन्।
काठमाडौँमा ठूलो क्षति हुँदा ललितपुरमा तुलनात्मक रूपमा कम भएको उल्लेख गर्दै उनले ललितपुरका बासिन्दाले धेरै स्थानमा विध्वंस रोक्न भूमिका खेलेको बताइन्।
समाजले खराब तत्वलाई रोक्ने क्षमता विकास गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले छिमेकी वा साथीभाइको घरसम्म जोगाउन नसक्नु चिन्ताको विषय भएको उल्लेख गरिन्।
उनले यस्तो घटनाबाट पीडित सबैप्रति क्षमा याचना गर्दै यस्तो हृदयविदारक अवस्था फेरि नदोहोरियोस् भनेर सबैले सोच्नुपर्ने आग्रह गरिन्।
बैठकमा सरकारका चार मन्त्री, सात राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोग र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी भए ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित रहे। राजनीतिक दलतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार २०:२३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।