काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् ।
आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ ।
प्राप्त भएका निवेदन उपर अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।
यसैबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक सय दुई वटा राजनीतिक दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् ।
एक सय २० राजनीतिक दलले चुनावमा भाग लिनका लागि निवेदन दिएकामा एक सय दुई वटा दलले एक्लाएक्लै चुनावमा जाने गरी निवेदन दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
१२ वटा राजनीतिक दलले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गर्ने गरी पाँच वटा समूहमा निवेदन दिएका छन् ।
एकल र संयुक्त चुनाव चिह्न प्रयोग गरी एक सय १४ राजनीतिक दलले भाग लिने भएकाले उनीहरूका लागि एक सय सात वटा चुनाव चिह्न प्रयोग हुनेछ ।





















प्रतिक्रिया