काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट अन्तिम पटक उम्मेदवार बन्ने तयारीमा रहेका छन्। २०४८ सालदेखि लगातार डडेलधुराबाट निर्वाचन जित्दै आएका देउवाले यसपटक ‘अन्तिम प्रतिस्पर्धा’ गर्ने संकेत गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयले मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस बुझाउन मातहतका संरचनालाई निर्देशन दिएपछि डडेलधुरा जिल्लामा देउवाको नाम सिफारिस गर्ने तयारी तीव्र बनेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पठाएको परिपत्रअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्नु पर्नेछ।
नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार स्थानीय नेता–कार्यकर्ता र जिल्लावासीको प्राथमिक चाहना देउवाले फेरि एक पटक निर्वाचन लडून भन्ने नै रहेको छ। “पार्टीका साथीहरू र जनताको आग्रह सभापतिज्यूलाई भेटेर राखेका छौँ। उहाँ सकारात्मक हुनुहुन्छ,” साउदले बताए।
उम्मेदवार सिफारिसका लागि मंसिर २४ गते जिल्ला कार्यसमिति बैठक बस्ने र त्यसभित्र देउवाको नाम सिफारिस गर्ने तयारी गरिएको साउदले जानकारी दिए।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टका अनुसार मंगलबार बिहान भेटमा देउवाले “अन्तिम पटक प्रतिस्पर्धामा उत्रिने” तयारी गरेको स्पष्ट बताएका थिए।
देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका छन्। २०४६ सालको जनआन्दोलनपछिका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेर निरन्तर विजयी हुने उनी एकमात्र नेता हुन्। सात पटक निर्वाचित देउवा यसपटक आठौँ पटक निर्वाचनमा उत्रिन लागेका हुन्।





















प्रतिक्रिया