काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो निवासमा आगजनी हुँदा घरभित्र राखिएको नगद जलेको भन्ने दाबी पूर्ण रूपमा अफवाह भएको बताएकी छन्। सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलिएको आरोप निराधार भएको स्पष्ट पारेकी हुन्।
उनीविरुद्ध दर्ता भएको रिटमा राष्ट्रिय सुरक्षा परिषद्को सदस्यका रूपमा मेची–महाकालीसम्म फैलिएको आन्दोलनका बेला समयमा बैठक नबोलाई सेना परिचालन नगरेको आरोप लगाइएको थियो। रिट निवेदकहरूले यसै कारण जनधनको ठूलो क्षति भएको भन्दै उनीहरूमाथि कारबाहीको माग गरेका थिए।
लिखित जवाफमा राणाले भनेकी छन्, “म र मेरो पति, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति निवासमा रकम जलेको भनेर विभिन्न टेलिभिजन तथा सामाजिक सञ्जालमा गरिएको दाबी पूर्ण रूपमा गलत छ।”
आन्दोलनका क्रममा उच्छृङ्खल समूहले आफ्नो निजी निवासमै प्रवेश गरी भौतिक आक्रमण गरेको र घरमा आगलागी भएको उल्लेख गर्दै उनले आफूहरू घाइतेसमेत भएको विवरण पेश गरेकी छन्। त्यही कारण सुरक्षा परिषद्को बैठक तुरुन्त बोलाउन नसकिएको जिकिर पनि उनले गरेकी छन्।
उनका अनुसार घरमा आगजनीपछि सरकार र सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी क्षतिको मुचुल्कासहितको प्रतिवेदनसमेत तयार गरिसकेको छ। सामाजिक सञ्जालमा फैलिएका सबै दाबीहरू यथार्थविपरीत रहेको उनले दोहोर्याएकी छन्।
“आशंकामा आधारित पूर्वाग्रही र आरोपयुक्त रिट निवेदन खारेज गरियोस्,” राणाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा अनुरोध गरेकी छन्।





















प्रतिक्रिया