Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्ने



काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग शनिबार निर्वाचनसम्बन्धी छलफल गर्ने भएकी छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा छलफल भएको थियो । उक्त छलफलको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले शनिबार पुनः तीन दलका नेतासँग भेट गर्न लागेकी हुन् ।

शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले कांग्रेस सभापति देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका थिए । मन्त्री खरेलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मन्त्री खरेलको सचिवालयका अनुसार शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच भेटवार्ता तथा छलफल हुने तय भएको छ ।

सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहेको भए पनि विभिन्न दलहरूले शान्ति–सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ११:२४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।