काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।
उनले भने,‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो बल प्रयोग गर्ने, गोली चलाउने कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यसबारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।’
त्यस्तै उनले प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने जानकारी गराए ।
पूर्वगृहमन्त्री लेखकले जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको जिकिर गरेका छन्। उनले संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवास लगायतमा भएको आगजनीलाई ’सुनियोजित षड्यन्त्र’ र ’लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिएका छन्।
उनले भने,‘प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रदर्शनलाई लोकतन्त्र बिरोधी तत्वहरुले हाइज्याक गरे । संसद्भवन, नयाँ वानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेन–जी अगुवाहरुले सामाजिक सञ्जालमार्फत सन्देश पठाए– हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइदैछ । साथीहरु आआफ्नो घर फर्किनुस् । ‘धमिलो पानीमा माछा मार्न चाहने’ तत्वले जेन–जीको भावना माथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो ।’
लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताका लागि लामो राजनीतिक जीवन व्यतित गरेको, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यताबाट दिक्षित भएको कार्यकर्ता साथै संविधानमा यि बिषय लिपीबद्ध गर्न क्रियाशील रहेको व्यक्तिको रुपमा पनि नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता र आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित वा अवरोध गर्ने बिषय आफूले सोच्न पनि नसक्ने उनले बताए ।
लेखकले देशमा अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिदै मैले तत्काल राजीनामा गर्ने निर्णय गरेको बताए ।





















प्रतिक्रिया