Logo

राजनीति

बालेन र रविको नियत जनताका लागि झन् घातक हुन सक्छः जेन्जी नेपाल संयोजक सहनी



काठमाडौं। जेन्जी नेपालका संयोजक तथा संयुक्त जेन्जी आन्दोलनका प्रवक्ता कृष्ण मोहन सहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा आरोप लगाएका छन्। उनले बालेन र रविको राजनीतिक नियत पुराना दलभन्दा पनि जनताका लागि घातक हुन सक्ने दाबी गरेका छन्।

जेन्जी अभियन्ता सहनीले पछिल्लो समय अपनाइएको बन्दसूची प्रणालीमार्फत पिछडिएका वर्ग र पहुँचविहीन व्यक्तिलाई प्रतिनिधित्व गराउने नाममा ठूला धनाढ्य तथा पहुँच भएका व्यक्तिलाई सांसद बनाइनु लाजमर्दो भएको टिप्पणी गरे। उनका अनुसार यस्तो अभ्यासले समानुपातिक प्रतिनिधित्वको मूल मर्ममाथि प्रहार गरेको छ।

‘परिवर्तनको नारा दिएर अगाडि आएका नेताहरूले व्यवहारमा पुरानै राजनीतिक प्रवृत्तिलाई निरन्तरता दिएका छन्,’ सहनीले भने, ‘पिछडिएका, सीमान्तकृत र आवाजविहीन वर्गको प्रतिनिधित्व गराउने नाममा धन र पहुँच भएका व्यक्तिलाई अघि सार्नु जनतासँग गरिएको विश्वासघात हो।’

उनले बन्दसूची प्रणालीको दुरुपयोग गर्दै आफ्ना नजिकका तथा आर्थिक रूपमा सबल व्यक्तिलाई प्राथमिकतामा राख्नु नयाँ राजनीति नभई पुरानै राजनीतिक संस्कृतिको पुनरावृत्ति भएको आरोप लगाए। यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउँदै वास्तविक पीडित वर्ग फेरि पनि प्रतिनिधित्वबाट वञ्चित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।

सहनीका अनुसार युवापुस्ताले बालेन शाह र रवि लामिछानेबाट वैकल्पिक र पारदर्शी राजनीति अपेक्षा गरे पनि हाल देखिएको अभ्यासले ती आशा कमजोर बनाएको छ।
‘जेन्जी पुस्ता वास्तविक परिवर्तन चाहन्छ, तर यहाँ नाम मात्रै नयाँ र काम पुरानै शैलीमा भइरहेको छ,’ उनले भने।

उनले यस्ता निर्णय र अभ्यासको विरुद्धमा आगामी दिनमा थप सशक्त आन्दोलन र विरोध कार्यक्रम अघि बढाइने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १६:२७   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।