Logo

अर्थ

चालु आवमा आर्थिक वृद्धिदरमा सुधार आउने राष्ट्र बैंकको प्रक्षेपण



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने प्रक्षेपण गरेको छ । आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेको भन्दै राष्ट्र बैंकले वृद्धिदर दीर्घकालीन औसतभन्दा माथि रहने अपेक्षा गरेको हो ।

गत आव २०८१/८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहेको र विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्रलाई राष्ट्र बैंकले लिएको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएकाले आर्थिक वृद्धि औसतभन्दा बढी हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, “आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहेको छ । विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धिसँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको र विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ ।”

चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ ।

प्रतिवेदनमा थप भनिएको छ, “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनर्निमाण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहेको छ ।”

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा चार प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत आवको मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोसी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।

गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको जनाएको छ । २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १६:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।