काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा त्रुटि फेला परेपछि ती सच्याउन दलहरूलाई पत्राचार गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार इमेलमार्फत त्रुटि सुधार गर्न दलहरूलाई जानकारी गराइएको हो।
आयोगले दलहरूले बुझाएको बन्दसूचीको नामावली अध्ययन गर्दा एउटै व्यक्तिको नाम दुई फरक क्लस्टरमा परेको, एक क्लस्टरमा हुनुपर्ने नाम अर्को क्लस्टरमा समावेश भएकोजस्ता त्रुटि देखिएको जनाएको छ। यस्ता समस्या नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत भेटिएका छन्।
त्यसैगरी केही दलले बुझाएको सूचीमा उम्मेदवारको हस्ताक्षर नभएको, पिछडिएको क्षेत्रअन्तर्गत राखिएका व्यक्तिहरूको नागरिकता जाँच आवश्यक पर्ने अवस्थासमेत देखिएको आयोगले जनाएको छ। यी तथा अन्य प्राविधिक विषय प्रष्ट पार्न र नमिलेका विवरण मिलाउन आयोगले दलहरूलाई पत्राचार गरेको हो।
यही पुस १३ र १४ गते दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए। त्यसको अध्ययनपछि आयोगले आइतबारदेखि त्रुटि सच्याउन निर्देशन दिएको हो। दलहरूले आजदेखि पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सुधार गर्न सक्नेछन्।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेले पुस २८ गते समय पाउनेछन्। फिर्ता भएमा त्यसको जानकारी आयोगले सम्बन्धित दललाई पुस २९ गते दिनेछ। नाम फिर्ताका कारण रिक्त हुने स्थानमा सोही समूहको अर्को उम्मेदवार मनोनयन गरी पुस ३० गते आयोगमा नामावली पेस गर्नुपर्ने कार्यतालिका छ।
आयोगको तालिकाअनुसार माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन हुनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध दर्ता गर्न सकिनेछ। दाबी–विरोधमाथि माघ ११ देखि १७ गतेसम्म जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ।
माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुने छ। आगामी फागुन २१ गते मतदान हुने कार्यतालिका आयोगले तय गरेको छ।





















प्रतिक्रिया