काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई विभाजन होइन, थप एकताबद्ध र गतिशील बनाउने दाबी गरेका हुन्।
शर्माले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउनु संवैधानिक प्रक्रिया भएको उल्लेख गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनले बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिने बताए।
उनले विशेष महाधिवेशनले फागुन २१ गते हुने निर्वाचनलाई असर नगरी उल्टै सहयोग पुग्ने दाबी गर्दै ‘जुर्मुराएर उठेको कांग्रेसले चुनावमा राम्रो परिणाम ल्याउने’ धारणा राखे। साथै, पार्टी एकता जोगाउँदै विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आह्वान गरे।





















प्रतिक्रिया