काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दाको पेसी तोकिएको हो।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललगायत प्रतिवादीमाथि अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो। अख्तियारबाट सो फाइल अदालतमा प्राप्त भएपछि आइतबारका लागि सुनुवाइको मिति तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना तथा सजाय मागदाबी गरेको छ।
अभियोगपत्रअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी गरिएको छ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको आरोपमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। यस प्रकरणमा अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।




















प्रतिक्रिया