Logo

इन्स्योरेन्स

तिहारपछि सेयर किन्दा पनि पाइन्छ १७ कम्पनीको लाभांश, कुनको कति ?



काठमाडौं । तिहारपछि सेयर बजारमा लगानी गर्ने योजना बनाएका लगानीकर्ताका लागि अझै पनि लाभांश प्राप्त गर्ने अवसर कायमै छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरे पनि हालसम्म बुक क्लोजको मिति तय गरेका छैनन्। त्यसैले यी कम्पनीको बुक क्लोज हुनुअघि सेयर खरिद गर्ने लगानीकर्ताले समेत घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश घोषणा गरेका कम्पनीमध्ये तीनवटा वाणिज्य बैंक, दुईवटा विकास बैंक, एउटा उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी, ६ वटा जलविद्युत् कम्पनी र पाँचवटा लघुवित्त संस्था छन्। कम्पनीहरूले नगद लाभांश, बोनस सेयर तथा नगद र बोनस सेयरको मिश्रित लाभांश घोषणा गरेका छन्।

कम्पनीले लाभांश वितरणका लागि साधारणसभाबाट प्रस्ताव पारित गराउनुपर्ने हुन्छ। त्यसपछि बुक क्लोजको मिति निर्धारण गरिन्छ। बुक क्लोज हुनुअघि सम्बन्धित कम्पनीको सेयरधनी कायम भएका लगानीकर्ताले घोषित लाभांश पाउने व्यवस्था छ। त्यसैले लाभांशको अवसर खोजिरहेका लगानीकर्ताले कम्पनीको बुक क्लोज मिति र सेयर कारोबारको समयलाई ध्यान दिनुपर्ने हुन्छ।

घोषित लाभांशमध्ये सबैभन्दा आकर्षक प्रतिफल युनिलिभर नेपालले प्रस्ताव गरेको छ। कम्पनीले १ हजार ५४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। अर्थात् कम्पनीको एक सय रुपैयाँ अंकित मूल्यको सेयरमा १ हजार ५४० रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको हो।

त्यस्तै, छिमेक लघुवित्तले २५ प्रतिशत कुल लाभांश घोषणा गरेको छ। यसमा ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश समावेश छ। कुथेली बुखरी स्मल हाइड्रोपावरले १८.९४७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत र मिड सोलु हाइड्रोपावरले १५.७८९ प्रतिशत कुल लाभांश प्रस्ताव गरेका छन्।

जलविद्युत् कम्पनीतर्फ मकर जितुमाया सुरीले १३.६८४ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १३.३७५ प्रतिशत तथा अपी पावर र युनाइटेड इदी मर्दीले समान ५.२६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।

बैंक तथा वित्तीय संस्थातर्फ मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत, एनएमबी बैंकले ७ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। महालक्ष्मी विकास बैंकले ७.४८ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्ततर्फ आरएसडीसीले ९.४० प्रतिशत, ग्लोबल आईएमई लघुवित्तले ९.५० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सले ११.०५२ प्रतिशत र हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

घोषित लाभांशको विवरण

कम्पनी बोनस सेयर (%) नगद लाभांश (%) कुल लाभांश (%)
लक्ष्मी सनराइज बैंक ५ ०.२६ ५.२६
स्ट्यान्डर्ड चार्टर्ड बैंक — १६ १६
एनएमबी बैंक — ७ ७
महालक्ष्मी विकास बैंक ३.७ ३.७८ ७.४८
मितेरी डेभलपमेन्ट बैंक ५ ६ ११
युनिलिभर नेपाल — १,५४० १,५४०
अपी पावर ५ ०.२६३ ५.२६३
मकर जितुमाया सुरी १३ ०.६८४ १३.६८४
कुथेली बुखरी स्मल हाइड्रोपावर १८ ०.९४७ १८.९४७
सिक्लेस हाइड्रोपावर १२.७०६ ०.६६९ १३.३७५
मिड सोलु हाइड्रोपावर १५ ०.७८९ १५.७८९
युनाइटेड इदी मर्दी ५ ०.२६३ ५.२६३
छिमेक लघुवित्त ११.९६३१ १३.०३६९ २५
आरएसडीसी लघुवित्त — ९.४० ९.४०
हिमालयन लघुवित्त ४.७५ ०.२५ ५
फस्र्ट माइक्रोफाइनान्स — ११.०५२ ११.०५२
ग्लोबल आईएमई लघुवित्त ६ ३.५० ९.५०

नगद लाभांश साधारणसभाबाट पारित भएपछि कम्पनीले सेयरधनीको बैंक खातामा पठाउने प्रक्रिया अघि बढाउँछन्। बोनस सेयर भने साधारणसभाबाट पारित भएपछि नियामकीय प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने भएकाले लगानीकर्ताको डिम्याट खातामा आउन केही समय लाग्न सक्छ।

तर लाभांश घोषणा भएको आधारमा मात्रै सेयर खरिद गर्नु उपयुक्त हुँदैन। कम्पनीको वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, लाभांश वितरण क्षमता, सेयरको बजार मूल्य र आगामी व्यावसायिक सम्भावनासमेत विश्लेषण गर्न आवश्यक हुन्छ। विशेषगरी उच्च प्रतिशतको लाभांश घोषणा गरेका कम्पनीको सेयर मूल्य पनि त्यही अनुपातमा आकर्षक हुन्छ भन्ने हुँदैन।

त्यसैले लगानीकर्ताले घोषित लाभांशसँगै कम्पनीको वास्तविक अवस्था र बजार मूल्यको मूल्यांकन गरेर मात्रै लगानीसम्बन्धी निर्णय लिनु उपयुक्त हुन्छ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।