Logo

कर्पोरेट फोकस

बैंकहरूको खराब कर्जा उच्च, सेयरधनीको लाभांश जोखिममा



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा उच्च देखिएको छ। असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार केही बैंकको खराब कर्जा अनुपात दोहोरो अंकमा पुगेको छ भने अधिकांश बैंकको वितरणयोग्य नाफा कमजोर देखिएको छ। खराब कर्जाको बढ्दो दबाबले बैंकहरूको नाफा र आगामी लाभांश वितरण क्षमतामा समेत चुनौती थपेको छ।

बैंकहरूको वित्तीय विवरणमा देखिएको खराब कर्जाको अवस्थाले बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्य र सेयरधनीले पाउने प्रतिफलमाथि प्रश्न उठाएको छ। अधिकांश बैंकले नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरे पनि वितरणयोग्य नाफा कमजोर देखिएपछि लगानीकर्ताको चिन्ता बढेको हो।

उपलब्ध वित्तीय विवरणअनुसार प्रभु बैंकको खराब कर्जा अनुपात १५ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा ९.२६ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत रहेको छ।

खराब कर्जा उच्च रहेका बैंकको सूचीमा हिमालयन बैंक र कुमारी बैंक पनि छन्। हिमालयन बैंकको खराब कर्जा अनुपात ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत पुगेको छ। त्यसैगरी प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत खराब कर्जा रहेको छ।

अन्य बैंकमध्ये ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९६ प्रतिशत, नेपाल बैंकको ४.१८ प्रतिशत, नबिल बैंकको ४.१० प्रतिशत, नेपाल एसबीआई बैंकको २.९२ प्रतिशत, सानिमा बैंकको २.८७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत रहेको छ। एभरेस्ट बैंकको खराब कर्जा अनुपात भने ०.४९ प्रतिशत मात्रै छ।

खराब कर्जा बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था मापन गर्ने महत्वपूर्ण सूचकमध्ये एक हो। ऋणीले निर्धारित समयमा साँवा तथा ब्याज भुक्तानी नगर्दा त्यस्तो कर्जा निष्क्रिय बन्छ। खराब कर्जा बढ्दै जाँदा बैंकको ब्याज आम्दानी प्रभावित हुनुका साथै सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने हुन्छ। यसले बैंकको खुद नाफामा दबाब सिर्जना गर्छ।

बैंकले वित्तीय विवरणमा नाफा देखाउँदैमा सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्था हुन्छ भन्ने छैन। नियामकीय व्यवस्था, सञ्चित नोक्सानी, वितरणयोग्य मुनाफा र पुँजी पर्याप्तताजस्ता सूचकले लाभांश वितरण गर्ने क्षमतामा प्रभाव पार्छन्। त्यसैले खराब कर्जा उच्च भएका बैंकका सेयरधनीले अपेक्षित प्रतिफल नपाउने जोखिम रहन्छ।

बैंकहरूको खराब कर्जा बढ्नुमा अर्थतन्त्रको सुस्तता, ऋणीको कमजोर भुक्तानी क्षमता र कर्जा असुलीमा देखिएका समस्याले पनि भूमिका खेलेको देखिन्छ। खराब कर्जाको समस्या वाणिज्य बैंकमा मात्रै सीमित छैन। विकास बैंक र वित्त कम्पनीहरूमा समेत कर्जाको गुणस्तरसम्बन्धी चुनौती देखिएको छ।

यद्यपि, खराब कर्जा अनुपात मात्रैका आधारमा कुनै बैंकको समग्र वित्तीय अवस्था निर्धारण गर्न मिल्दैन। बैंकको कर्जा नोक्सानी व्यवस्था, निष्क्रिय कर्जा असुली, वितरणयोग्य नाफा, पुँजी पर्याप्तता, तरलता र लगानीबाट प्राप्त प्रतिफलसमेत विश्लेषण गर्नुपर्ने हुन्छ।

बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन सुधार्ने र ऋण प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने आवश्यकता देखिएको छ। अन्यथा, बैंकहरूको वित्तीय स्वास्थ्यमा देखिएको दबाबको असर अन्ततः सेयरधनीले पाउने लाभांश र समग्र वित्तीय प्रणालीको स्थायित्वसम्म पुग्न सक्छ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।