काठमाडौं । फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार (आजबाट) नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत आजबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो ।
प्रवक्ता बस्नेतका अनुसार विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेर पैदल गस्ती शुरु गरिएको हो । मतदान केन्द्र र गणनास्थलको सुरक्षाका लागि केही समयपछि मात्रै सेना परिचालित हुने उनले बताए । ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमशः पहिलो र दोस्रो घेरामा तैनाथ हुन्छन् । त्यसपछि मात्रै सेनाले सुरक्षा भूमिका निर्वाह गर्दछ ।
९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो ।
त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर, इटहरी गरी पाँच ठाउँमा हेलिकप्टर पनि ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ ।
निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि ठुलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।
यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने सहायक रथी बस्नेत बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरु, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरुको सुरक्षा सेनाले गर्नेछ ।




















प्रतिक्रिया