काठमाडौं। होटल फरेस्ट इनले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरी बाँडफाँटपछि सर्वसाधारणमा सेयर निष्कासन गरेको हो।
होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ४ लाख कित्ता आईपीओ जारी गरेको थियो।
३६ लाख कित्तामध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याएर बाँकी ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिनेछ। आवेदन अवधि छिटोमा माघ २६ र ढिलोमा माघ २८ सम्म रहनेछ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालडले ‘डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ।




















प्रतिक्रिया