काठमाडाैं । काठमाडौंमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य र शिक्षाका विषयमा केन्द्रित एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। ग्राण्डी इन्टरनेशनल हस्पिटलको आयोजनामा र एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा अष्ट्रेलियन ब्रान्ड आईविविले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको थियो।
कार्यक्रममा वैदेशिक नियोगका प्रतिनिधि, एवनका सदस्य, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, अस्पतालका चिकित्सक, साथै डाउन सिन्ड्रोम भएका बालबालिका र उनीहरूका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, पारिवारिक गतिविधिमा सहभागिता तथा जीवनोपयोगी सीप विकासमा ध्यान दिए सकारात्मक परिवर्तन सम्भव हुने बताए।
त्यसैगरी एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बच्चा जन्माएको कारण आमाहरूले भोग्ने सामाजिक पीडाप्रति दुःख व्यक्त गर्दै यस विषयमा चेतना अभिवृद्धि र सामूहिक सहयोग आवश्यक रहेको बताइन्। उनले भनिन्, “समाजका हरेक व्यक्ति फरक हुन्छन्, त्यसैले संसार सुन्दर छ। डाउन सिन्ड्रोम भएका बालबालिकाको फरक क्षमतालाई पहिचान गरी सम्मान गर्नुपर्छ।”
डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्षकी शिला थापाले आफ्नै अनुभव सुनाउँदै आफ्नो सन्तान डाउन सिन्ड्रोम भएको कारण भोगेका चुनौतीका आधारमा अन्य अभिभावकलाई सहयोग पुर्याउने उद्देश्यले संस्था स्थापना गरेको बताइन्।
विश्वमा जन्मिने करिब प्रत्येक ७०० बालबालिकामध्ये एक जनामा डाउन सिन्ड्रोम हुने तथ्य प्रस्तुत गर्दै कार्यक्रममा यस क्षेत्रका लागि आवश्यक पूर्वाधार विकास तथा राज्यको लगानी अझै अपर्याप्त रहेको औंल्याइयो। यसले गर्दा प्रभावित बालबालिका र उनीहरूको परिवार सामाजिक विभेदको सामना गर्न बाध्य भएको उल्लेख गरियो।
कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले यस्तो सामाजिक उत्तरदायित्वमूलक कार्यक्रममा सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गर्दै भविष्यमा पनि यस क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाइन्।





















प्रतिक्रिया