काठमाडौं । उद्योगी चन्द्र प्रसाद ढकाल स्वामित्वको चन्द्रागिरी हिल्स प्रा.लिले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी एक सामान्य नागरिकमाथि १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। चन्द्रागिरी हिल्स प्रा.लिले जेनजी आन्दोलनमा सहभागी एक आन्दोलनकारीबाट १ अर्ब ६४ करोड भन्दाबढि क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको हो ।
गत भदौ २३ गते भएको आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको दमनको प्रतिरोधमा आएका चन्द्रागिरी नगरपालिका ७ का धर्मसिंह तामाङलाई चन्द्रागिरी हिल्समा तोडफोड तथा आगजनी गरेको भन्दै एक अर्ब ६४ करोड २४ लाख ५३ हजार ८ सय १६ रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरिएको छ।
यता प्रहरी हिरासतमा रहेका आरोपी तामाङले बयानका क्रममा आफू २३ गते सरकारले दमन गरेको प्रतिरोधमा २४ गते सडक आन्दोलनमा निस्किएको बताएका छन्। उनले जेन्जी आन्दोलनकै क्रममा आफू पनि चन्द्रागिरी हिल्समा गएको र आफूले एउटा भाटाले सामान्य सिसा मात्रै फुटाएको बयान दिएका छन् । चन्द्रागिरीमा आफूले आगजानी नगरेको र आगजनी गर्ने मानिसहरु नचिनेको समेत बयान दिएका छन् । आगजनी गर्ने र डाँका चोरी गर्ने जस्ता कार्य आफूबाट नभएको उनले बयान दिएका छन् । आरोपी तामाङ किराना पसल संचालन गरि बस्ने एक सामान्य नागरिक हुन्।
तर, प्रहरी बृत्त थानकोटले तामाङमाथि तोडफोड र आगजनी समेत गरेको स्थापित भएको भन्दै अभियोग पत्र दर्ता गराएको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) ले निषेधित गरेको र उपदफा २ क अनुसारको कसुर गरेको आरोप लगाएको छ । यस्तो कसुरमा २ वर्षदेखि ५ वर्ष कैद र २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र विगो बराबरको क्षतिपूर्ति कसुरदारबाट भराउन माग गरिएको छ । तामाङलाई गत चैत्र ३ गते जरुरी पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको थियो ।
गत भदौ २३ गते जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि तत्कालिन सरकारले निर्ममतापूर्वक दमन गर्दा प्रहरीको गोली प्रहारबाट ३ बालबालिकासहित १९ जनाको निधन भएको थियो। त्यसको प्रतिकारमा भदौ २४ गतेसहित ७६ जनाको मृत्यु भएको थियो। यो घटनामा दमन गरेको अभियोगमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट च्युत हुनुपर्यो ।
ओली सत्ताच्युत भएपछि हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्यो। बहुमतको आधारमा बालेन शाह देशको प्रधानमन्त्री बने भने जेन्जी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा तत्कालिन प्रधानमन्त्री ओली प्रहरी हिरासतमा छन् ।
गजबको कुरा त के छ भने यति ठूलो राजनीतिक परिवर्तनसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीमा तिनै अर्बपति व्यापारी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका पुत्र सचिन ढकाललाई राखियो। तर, समानुपातिक प्रणालीकै धज्जी उडाउँदै अर्बपतिलाई सांसद बनाउने बिषयको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि उनले आफ्नो नाम फिर्ता लिए। जेनजी आन्दोलनको फाइदा उठाएर आफ्नै छोरालाई समानुपातिक सांसद बनाउन लागेका ढकालले छोरा सांसद बनाउन नपाएको झोकमा सोहि आन्दोलनमा सहभागी भएका एक जना सामान्य व्यक्तिमाथि यतिठूलो मुद्दा लगाउन भ्याए ।


















प्रतिक्रिया