काठमाडौं । विभिन्न जिल्लाका १ लाख ८८ हजार थान लाइसेन्स हुलाक मार्फत पठाउने तयारी भएको छ । यातायात व्यवस्था विभागले जेनजी आन्दोलनपछि पहिलो पटक अति आवश्यक बाहेक नियमित तर्फको लाइसेन्स छपाइ कार्य सम्पन्न गरी हुलाक मार्फत पठाउने तयारी गरेको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा रहेको लाइसेन्स प्रिन्ट गर्ने मेसिनमा क्षति पुगेपछि अति आवश्यक लाइसेन्सको छपाइ समेत करिब २० दिनसम्म पूर्ण रूपमा बन्द हुन पुगेको थियो ।
उक्त घटनाको झन्डै ७ महिनापछि पुनः विभिन्न जिल्लाका यातायात कार्यालयहरूको नियमित लाइसेन्स छपाइ सम्पन्न भएर हुलाक मार्फत ती कार्यालयमा पठाउने तयारी थालिएको विभागले जनाएको छ ।
विभागका अनुसार अहिले छपाइ भएर तयार भएका ताप्लेजुङ, पाँचथर, इलाम, डोटी र अछाम लगायतका पहाडी जिल्लाहरूका लाइसेन्स हुलाक मार्फत पठाउन लागिएको हो ।
यातायात व्यवस्था विभागका आईटी डाइरेक्टर केशव खतिवडाले अति आवश्यक बाहेकका अन्य १ लाख ८८ हजार लाइसेन्स छपाइ भएर हुलाक मार्फत पठाउन लागिएको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनपछि पहिलो पटक नियमित तर्फको लाइसेन्स छपाइ भएर आएपछि हामीले हुलाक मार्फत ती कार्यालयलाई पठाउन लागेका हौँ ।
हामीले छपाइ भएको लाइसेन्सको विवरण सार्वजनिक गर्नेछौँ भने हुलाक मार्फत सम्बन्धित कार्यालयले पनि प्राप्त लाइसेन्सको विवरण सार्वजनिक गर्नेछन् ।
जेनजी आन्दोलनभन्दा पहिले पनि विभिन्न कार्यालयका लाइसेन्स हुलाक मार्फत नै पठाउने गरिएको थियो । नजिकै रहेका कार्यालयहरूको लाइसेन्स भने हामी आफैँले पनि पुर्याइदिने गरेका छौँ ।’


















प्रतिक्रिया