काठमाडाैं । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा डा भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै ग्रुपका अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको बताए । ‘सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग पनि सहकार्य शुभारम्भ भएकोमा हर्षित पनि छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ’, उनले भने ।
त्यस्तै सहयोग रकम बुझ्दै किओचका संस्थापक अध्यक्ष प्रा डा भगवान कोइरालाले गोल्छा ग्रुपको साथ र सहयोगका लागि आभार व्यक्त गरे । ‘यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गर्दछु, यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने विश्वास लिएको छु’, उनले भने ।
सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ । देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो ।
गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो । यसले नेपालमा औद्योगिकीकरणको सुरुवात गर्दै देशको पहिलो उद्योग स्थापना गर्ने गौरवपूर्ण इतिहास बोकेको छ । बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उक्तिकै अग्रसर रहेको छ ।


















प्रतिक्रिया