काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरिएको हो ।
राष्ट्रका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलका अनुसार निर्देशकद्वय हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।
नवनियुक्त कार्यकारी निर्देशक सापकोटा २०५३ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए भने न्यौपाने २०५९ सालमा प्रवेश गरेका थिए ।
बढुवा हुनुअघि सापकोटा आन्तरिक लेखा परीक्षण विभाग र न्यौपाने बैंकिङ विभागमा निर्देशकका रूपमा कार्यरत थिए । नवनियुक्त कार्यकारी निर्देशक सापकोटालाई भने गभर्नरको कार्यालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्का नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेले बैंकिङ विभागको जिम्मेवारी पाएका छन् ।
केन्द्रीय बैंकले कार्यकारी निर्देशकमा दुई निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर गरेको छ । कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनी गभर्नरको कार्यालयबाट मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
बैंक विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेललाई विदेशी विनिमय विभागमा सरुवा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।





















प्रतिक्रिया