भक्तपुर । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वमञ्चमा हालसम्म अमेरिका, चीन र युरोपका ठूला प्रयोगशालाको प्रभुत्व रहँदै आएको छ। तर भक्तपुरस्थित एक सानो अनुसन्धान केन्द्रले यही स्थापित धारणा चुनौती दिएको छ।
नेपालको एआई कम्पनी ‘सेजिया’ले आफ्नो फ्ल्यागशिप भाषा मोडेल ‘सेज २.५ म्याग्नस’ सार्वजनिक गरेको छ। १२० अर्ब प्यारामिटर क्षमतायुक्त यो मोडेलले विश्वका अग्रणी एआई प्रणालीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ।
कम्पनीका संस्थापक बासब झा, उज्ज्वल पुरी र फिरोज पौडेलसहित १२ सदस्यीय टोलीले सीमित स्रोतका बाबजुद आफ्नै प्रशिक्षण पूर्वाधार र डेटा पाइपलाइन निर्माण गरी मोडेल विकास गरेको जनाएको छ।
उनीहरूका अनुसार म्याग्नस कुनै विदेशी प्रणालीको परिमार्जित संस्करण नभई पूर्णतः मौलिक उत्पादन हो।
प्राविधिक रूपमा ‘मिक्सचर अफ एक्सपर्ट्स’ ट्रान्सफर्मर संरचनामा आधारित म्याग्नसले विभिन्न अन्तर्राष्ट्रिय बेन्चमार्कमा उल्लेखनीय प्रदर्शन गरेको कम्पनीको भनाइ छ।
प्रतिस्पर्धात्मक गणितीय परीक्षणमा ८३.५ अंक प्राप्त गर्दै यसले केही स्थापित मोडेललाई पछाडि पारेको दाबी गरिएको छ।
निर्देशन–अनुसरण (इन्स्ट्रक्सन फलोइङ) मूल्याङ्कनमा पनि उच्च स्कोर हासिल गरेको जनाइएको छ। कम्पनीका अनुसार सीमित स्रोत भए पनि स्मार्ट डिजाइन र लक्षित विकास रणनीतिले मोडेललाई प्रतिस्पर्धी बनाएको हो।
सेजियाले भाषा मोडेलमा मात्र सीमित नरही व्यावसायिक समाधानतर्फ पनि काम गरिरहेको छ। कम्पनीले ‘हेलियोस’ नामक केवाइसी पूर्वाधार विकास गरेको छ, जसलाई नेपालका केही पेमेन्ट सर्भिस प्रोभाइडरहरूले प्रयोगमा ल्याइसकेका छन्। यस प्रणालीले पहिचान प्रमाणीकरण, डीपफेक पत्ता लगाउने तथा कागजात सत्यापनजस्ता कार्य गर्छ।
त्यसैगरी ‘भोरा’मार्फत बहुभाषिक वाक् प्रणाली र डकुमेन्ट एआई समाधान विकास गर्दै कम्पनीले वित्तीय तथा प्रशासनिक क्षेत्रको डिजिटल रूपान्तरणमा योगदान दिइरहेको जनाएको छ।




















प्रतिक्रिया