काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले शेखर गोल्छा पक्राउ प्रकरणले राज्यका संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जनाएको छ।
नाइमाका बोर्ड सदस्यसमेत रहेका गोल्छा पक्राउ परेपछि एसोसिएसनले आइतबार एक वक्तव्य जारी गर्दै यस्ता प्रकृतिका मुद्दामा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई पर्याप्त स्पष्टीकरण दिने अवसर सुनिश्चित गरिनुपर्ने बताएको हो। प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र समग्र प्रणालीप्रतिको विश्वास मजबुत हुने नाइमाको धारणा छ।
एसोसिएसनले उद्योग–व्यवसाय क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा आर्थिक गतिविधिमा उल्लेख्य योगदान दिँदै आएको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उच्च राख्न राज्यले सकारात्मक सन्देश दिनुपर्ने औंल्याएको छ।
उद्यमशीलताको निरन्तरता र विश्वासको वातावरण सुदृढ गर्न निजी क्षेत्रको योगदानलाई व्यवहार र नीतिमा प्रतिबिम्बित गर्नुपर्ने पनि नाइमाले जनाएको छ।
पर्याप्त प्रमाणबिनै कुनै व्यक्तिविरुद्ध निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले संस्थागत विश्वासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै नाइमाले सम्बन्धित निकायलाई संवेदनशीलता अपनाउन आग्रह गरेको छ।




















प्रतिक्रिया