काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौँको मच्छेनारायण मन्दिर परिसरको सरसफाइ व्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले डस्टबिनहरू उपलब्ध गराएको छ।
सोमबार आयोजित एक कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अच्युत अधिकारीलाई डस्टबिन हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वडा अध्यक्ष अधिकारीले यही जेठ ३ गतेदेखि सुरु हुने पुरुषोत्तम मास मेला को व्यवस्थापनका लागि आवश्यक डस्टबिन उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे। उनका अनुसार पुरुषोत्तम मासका अवसरमा लाग्ने उक्त मेलामा हिन्दु धर्मावलम्बीहरूले भगवान विष्णुको मत्स्य अवतारको पूजा–आराधना गर्ने गर्दछन्। यस स्थानमा भगवान विष्णुले मत्स्य अवतार लिएको धार्मिक विश्वासका कारण यहाँ विशेष पूजा हुने गरेको पनि उनले जानकारी दिए।
आम नागरिकको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंक ले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले जनाएको छ।





















प्रतिक्रिया