Logo

अर्थ

राष्ट्र बैंकका पदाधिकारीले बुझे झन्डै ३ करोड, कसले कति पाए?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समितिका सदस्यहरूले आर्थिक वर्ष २०८२/८३ मा तलब, बैठक भत्ता र अन्य सुविधाबापत झन्डै ३ करोड रुपैयाँ बुझेका छन्।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा आठ जना पदाधिकारीले तलब, बैठक भत्ता र विभिन्न सुविधाबापत कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ प्राप्त गरेका हुन्। यसमध्ये तलबमा ४८ लाख ९६ हजार १०० रुपैयाँ, बैठक भत्तामा ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधामा २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको छ।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मात्रै एक वर्षमा ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्। उनले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, बैठक भत्ताबापत ५ लाख ६० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ५६ हजार ९५६ रुपैयाँ प्राप्त गरेका हुन्।

सञ्चालक समितिका पदाधिकारीमध्ये सबैभन्दा बढी रकम डेपुटी गभर्नर किरण पण्डितले बुझेका छन्। गत चैत २४ गते डेपुटी गभर्नर नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदाको पारिश्रमिकसमेत जोड्दा कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन्।

उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ बुझेका छन्।

त्यस्तै, २०८२ फागुन २५ गते कार्यकाल पूरा गरी बिदा भएका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले आंशिक अवधिको पारिश्रमिक तथा सुविधाबापत क्रमशः ५४ लाख १८ हजार ९७१ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन्।

अन्य सञ्चालकहरूमा डा. रवीन्द्रप्रसाद पाण्डेले २९ लाख ११ हजार २०१ रुपैयाँ बुझेका छन्। उनले बैठक भत्ताबापत ५ लाख ७६ हजार र अन्य सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ प्राप्त गरेका हुन्।

त्यसैगरी, सञ्चालक चिन्तामणि शिवाकोटीले २४ लाख ४६ हजार ९६९ रुपैयाँ र शंकरप्रसाद आचार्यले २२ लाख ८३ हजार ८१३ रुपैयाँ बुझेका छन्। शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार र अन्य सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ पाएका छन्। आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन्।

अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थसचिव डा. घनश्याम उपाध्यायले भने बैठक भत्ता र अन्य सुविधाबापत कुल ८ लाख ८८ हजार १२० रुपैयाँ बुझेका छन्। उनले बैठक भत्ताबापत ५ लाख ४० हजार र अन्य सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ प्राप्त गरेका हुन्।

राष्ट्र बैंकको व्यवस्थाअनुसार सञ्चालक समितिका सदस्यले प्रतिबैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउँछन्। कार्यकारी सञ्चालकका रूपमा रहेका गभर्नर र डेपुटी गभर्नरले तलब तथा विभिन्न भत्ता प्राप्त गर्छन्। यसबाहेक सञ्चालकहरूले इन्धन, सवारीसाधन मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवा र औषधोपचारजस्ता सुविधा पनि पाउने व्यवस्था छ।

समीक्षा अवधिमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक ६४ पटक बसेको थियो। यसैगरी, कार्यकारी निर्देशकसहित मुख्य व्यवस्थापन तहका पदाधिकारीको पारिश्रमिकमा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १५:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।