काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौंमा ‘नेपाल हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना गर्ने भएको छ ।
प्रदेश तथा जिल्ला स्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवम् प्रचार प्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्याउनुका साथै हस्तकला उत्पादनको व्यवसायिक विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।
साथै जिल्ला संघहरूको सवलीकरणमा सहयोग पुर्याउनु, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्नु, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्नु, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यवसायिक विकासमा सहयोग गर्नु ,स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रबर्द्धन गर्नु, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु रहेको समेत महासंघको भनाइ छ । मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, साँस्कृतिक कार्यक्रम, स्थानीय उद्योगी, कलाकार/कालिगढको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारको स्वाद पस्कने कार्यक्रम छ ।
मेलामा काठमाडौं उपत्यका भित्रका जिल्लसहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया काभ्रेपलान्भोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ आदि जिल्लाबाट त्यहाँका स्थानीय जिल्ला संघले भाग लिने बताइएको छ । मेलामा मेक इन नेपाल र मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुका ७० स्टल राखेर वस्तु तथा सेवा प्रदर्शन गरिने छ ।





















प्रतिक्रिया