Logo

अर्थ

एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति घोषणा



काठमाडौं । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीका लागि देशव्यापी छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

युवा सशक्तिकरण र शिक्षाप्रतिको आफ्नो प्रतिवद्धता अनुसार एनसेलद्वारा घोषित यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरका नयाँ ढोकाहरू खुला गर्नेछ।

यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने कम्पनीले जनाएको छ ।

‘यस पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीलाई विशेष प्राथमिकता दिनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्‍याउनेछ ।’

प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत एसईई उत्तीर्ण युवा विद्यार्थीलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न खोजिएको एनसेलले जनाएको छ ।

‘भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ ।’

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले आर्थिक वा भौगोलिक अवस्थाकै कारण कसैको शिक्षा रोकिन नहुने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताइन् ।

हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले पनि यस वर्ष थप ५० जनालाई छात्रवृत्ति प्रदान गर्नेछ। एनसेलले गत वर्ष ५० जना विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराएको थियो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १२:१९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।