काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान)लाई लगाएको सबै मुद्दाहरू फिर्ता लिएको छ । कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानविरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन् ।
जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
उनले विज्ञप्तिमा भनेका छन्, “खेल क्षेत्रको अभिभावक निकायका रूपमा परिषद्ले सम्पूर्ण मुद्दाहरू फिर्ता लिन अनुरोध गर्नु तथा खेल विकासमा सबै पक्ष एकजुट हुनुपर्ने सन्दर्भमा, यदि सम्बन्धित विपक्षीहरू समेत सहमत हुने हो भने आपसी समझदारी, सहकार्य र समन्वयका आधारमा मुद्दा फिर्ता लिन हामीलाई कुनै आपत्ति रहने छैन । र, यसै विज्ञप्तिमार्फत नेपाल क्रिकेट संघको विरुद्धको रहेको सम्पूर्ण मुद्दाहरू फिर्ता लिएको जानकारी गराउँदछु ।”
तर, आफ्नो नाममा दर्ता रहेको नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड र सो कम्पनीको बैंक खातामा भने आफ्नो स्वामित्व रहने कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।
अख्तरले आफू विभिन्न उमेर समूह तथा राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरेको र खेलाडी जीवनकै दौरानदेखि नै मैदानभित्रबाट क्रिकेट तथा समग्र खेल क्षेत्रमा देखिएका विसंगतिहरूका विषयमा आवाज उठाउँदै आएको स्मरण पनि गरेका छन् ।
खेल जीवनपछि नेपालको खेलकुद विकासका लागि खेल संस्थाभित्र उठाइएका जायज विषयहरूमा आवश्यक सुनुवाइ नभएपछि आफूले बाध्य भएर अदालतको शरण लिनुपरेको उनको भनाइ छ । आफ्नो कानुनी लडाइँ व्यक्तिगत द्वेषका कारण नभई समग्र खेल क्षेत्रको सुधार र विकासका लागि गरिएको उनले जनाएका छन् ।
उनले खेललाई केवल मनोरञ्जनको माध्यम मात्र नभई एक उद्योगका रूपमा विकास गर्न सके देशको अर्थतन्त्रमा समेत सकारात्मक र दिगो योगदान पुग्ने विश्वास लिएको बताएका छन् ।





















प्रतिक्रिया