विराटनगर। कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमाथिको सामान्य छलफल जारी रहेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सदनमा बजेटमाथि छलफल सुरु भएको हो।
छलफलका क्रममा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित कर नीतिले सीमान्तकृत वर्ग प्रभावित हुन सक्ने बताए।
उनले भारत सरकारले नेपाली चिया निकासीमा लगाएको अवरोधका कारण दर्जनौँ चिया उद्योग प्रभावित भएको, ५० हजारभन्दा बढी चिया मजदुरको रोजगारी संकटमा परेको तथा चिया किसानसमेत समस्यामा परेको उल्लेख गरे। उक्त विषय समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ थियो।
प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले बजेटले सुशासन प्रवर्द्धन र जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै, सदस्य खड्गबहादुर बस्नेत र डोल्मा तामाङले खानेपानी क्षेत्रमा बजेटमार्फत गरिएको व्यवस्थाले प्रदेशका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राखे।




















प्रतिक्रिया