काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन्।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच आपसीहितका विविध विषयमा द्विपक्षीय छलफल भएको हो। भेटमा मन्त्री चौधरीले नेपाल र युरोपेली संघबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा कृषि, वन, वातावरण एवं ग्रामीण विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गरिन्।
उनले नेपाल सरकारका तर्फबाट युरोपेली संघको निरन्तर सहयोगप्रति आभार व्यक्त गरिन्। छलफलका क्रममा नेपालको कृषि क्षेत्रमा आगामी सहकार्यका सम्भावनाबारे विस्तृत विचार आदानप्रदान गरिएको थियो।
नेपालमा उत्पादित बटर मिल्कबाट निर्मित ‘डग च्यु’लाई युरोपेली बजारमा निर्यात गर्ने सम्भावनाबारे पनि छलफल भएको हो। मान्यता प्राप्त कृषि तथा खाद्य परीक्षण प्रयोगशालाको स्थापना तथा सुदृढीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा कार्य अघि बढाउने विषयमा सकारात्मक छलफल भयो।
छलफलमा दुवै पक्षले कृषि, वन, वातावरण, खाद्य सुरक्षा, व्यापार तथा दिगो विकासका क्षेत्रमा नेपाल र युरोपेली संघबिचको सहयोग, साझेदारी तथा प्राविधिक सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी, सुदृढ र विस्तारित बनाउँदै लैजाने साझा प्रतिबद्धता व्यक्त गरेका थिए।




















प्रतिक्रिया