काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट झेलिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण उपलब्ध गराउने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा बुधबार आयोजित छलफलमा राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए। छलफलको सुरुवातमै अर्थमन्त्री वाग्लेले उनीहरूलाई अनुभवी र सक्षम अर्थशास्त्रीको संज्ञा दिँदै मुलुकको आर्थिक पुनरुत्थानका लागि व्यावहारिक सुझाव दिन आग्रह गरेका थिए।
उनले वर्तमान आर्थिक अवस्थाले वित्तीय संकटमा परेका नागरिक र निजी क्षेत्रलाई कसरी राहत दिन सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रभावकारी उपाय सुझाउन आग्रह गरे।
नयाँ बजेट कार्यान्वयनमा आइसकेकाले त्यसलाई आधार बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ थियो।
विगतका नीतिगत कारणले समस्या भोगिरहेका उद्योगी–व्यवसायी र सर्वसाधारणलाई पुनः आर्थिक गतिविधिमा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले ऋण असुली समस्याका कारण कालोसूचीमा परेका हजारौं नागरिकलाई दोस्रो अवसर दिने उपाय खोज्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले मौद्रिक नीति कार्यान्वयन गर्ने निकायका रूपमा राष्ट्र बैंकले स्वच्छ नियमन, लगानीमैत्री वातावरण र वित्तीय सहजीकरणमार्फत आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।
छलफलमा सहभागी कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठनपछि बजारमा बिस्तारै आत्मविश्वास बढ्न थालेको र अर्थतन्त्र सुधारतर्फ उन्मुख भएको संकेत देखिन थालेको बताएका थिए। यद्यपि कोभिड–१९ महामारीपछि अर्थतन्त्रले अझै पूर्ण रूपमा लय समाउन नसकेको र त्यसको असर उद्योग, व्यवसाय तथा सर्वसाधारणमा कायम रहेको उनीहरूको भनाइ थियो।
उनीहरूले पछिल्ला वर्षहरूमा कालोसूचीमा पर्ने नागरिकको संख्या उल्लेखनीय रूपमा बढेको र त्यसले बजारमा निराशा फैलाएको उल्लेख गर्दै समस्याको व्यावहारिक समाधान आवश्यक रहेको बताए।
वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचतको सुरक्षा सुनिश्चित गर्दै कालोसूचीमा परेका नागरिक तथा व्यवसायीलाई पुनः आर्थिक गतिविधिमा फर्काउने नीति आवश्यक रहेको उनीहरूको सुझाव थियो।




















प्रतिक्रिया