काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १०४१.१६ प्रतिशतले बढेको छ।
बैंकले गत असार मसान्तसम्म १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख रुपैयाँ थियो।
नाफामा उल्लेख्य सुधार आए पनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १५.७४ प्रतिशतले घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.०३ प्रतिशतले घटेर ११ अर्ब १४ करोड १ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ अर्ब ५२ करोड १५ लाख रुपैयाँ थियो।
सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ थियो।
बैंकको वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक छ। गत आर्थिक वर्षको अन्त्यसम्म वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो रकम ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार भएको छ। अघिल्लो वर्ष ०.६० रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर ६.५६ रुपैयाँ पुगेको छ।
तर बैंकको खराब कर्जा (एनपीएल) भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको एनपीएल बढेर ११.५९ प्रतिशत पुगेको छ।
बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।
यता, बैंकको कर्जा प्रवाह भने १.२४ प्रतिशतले घटेको छ। गत असार मसान्तसम्म बैंकले २ खर्ब २७ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।















प्रतिक्रिया