काठमाडौं । नेपालमा अटो फाइनान्सिङतर्फ कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, लोन टू भ्यालु रेसियो (एलटीभी) र बीमा दाबी प्रक्रियालाई थप सहज र पारदर्शी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले अटो फाइनान्सिङको बढ्दो बजारसँगै जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले सवारीसाधन खरिदका लागि प्रवाह हुने कर्जामा लोन टू भ्यालु रेसियो महत्वपूर्ण हुने बताए । सन् २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्रै पर्याप्त नहुने देखिएपछि एलटीभीको व्यवस्था गरिएको उनले बताए ।
‘हायर पर्चेज कर्जामा सुरुमा ५० प्रतिशत लोन टू भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आईसीई गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसबाट सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्वपूर्ण छ ।’
कर्जा भुक्तानीमा समस्या आए आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुने भएकाले एलटीभी आवश्यक रहेको सुवेदीको भनाइ छ । एलटीभीको सीमा राज्यको नीति र प्राथमिकताअनुसार परिवर्तन हुन सक्ने उनले बताए । ईभीलाई ग्रिन फाइनान्सिङअन्तर्गत राखिएकाले तुलनात्मक रूपमा बढी एलटीभीको सुविधा दिइएको उनले स्पष्ट पारे ।
सुवेदीले अटो लोन र हायर पर्चेज कर्जा एउटै नभएको भन्दै त्यसलाई फरक ढंगले बुझ्नुपर्ने बताए । हायर पर्चेज कर्जा सवारीसाधनबाहेक मोबाइल तथा घरायसी सामग्रीमा समेत प्रवाह हुने भएकाले यसको दायरा फराकिलो रहेको उनको भनाइ छ ।
उनका अनुसार हाल करिब ६० खर्ब रुपैयाँको कुल कर्जामध्ये १ खर्ब ४२ अर्ब रुपैयाँ हायर पर्चेज कर्जाको हिस्सा रहेको छ । यस्तो कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको उनले जानकारी दिए ।
‘यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरू कर्जा दिन तयार हुन्छन् । त्यसैले यसमा जोखिम पनि कम छ,’ उनले भने । अटो लोनमा तत्काल क्रेडिट बबल आउने अवस्था नरहेको पनि उनले बताए । यद्यपि कुनै एक क्षेत्रमा देखिएको समस्याले अन्य क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले राष्ट्र बैंक सतर्क रहेको उनको भनाइ छ ।
बीमा दाबीमा बुझाइको कमी मुख्य समस्या
एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बने पनि प्रक्रिया र प्रमाणबारे स्पष्ट बुझाइ भए दाबी फर्छ्योट सहज हुने बताए ।
बीमा दाबी निश्चित सिद्धान्त, प्रमाण र प्रक्रियाका आधारमा फर्छ्योट हुने भएकाले क्षतिको सही विवरण तथा त्यसलाई पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराए दाबी प्रक्रियामा समस्या नहुने उनले बताए ।
‘बीमाको ऐनअनुसार निष्पक्ष र पारदर्शी रूपमा दाबी फर्छ्योट गर्नुपर्छ,’ उनले भने, ‘बीमा प्राधिकरणले पनि छिटो भुक्तानी दिन सकिने गरी निर्देशन दिइरहेको छ । अब दाबी प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी ड्यासबोर्डमार्फत देखाउने व्यवस्था आवश्यक छ ।’
ईभीको बीमामा ब्याट्रीको क्षतिलाई लिएर पनि स्पष्ट व्यवस्था रहेको उनले बताए । उनका अनुसार ईभीको ब्याट्रीमा डिप्रिसिएसन गणना गर्दा ५० प्रतिशतसम्म मात्र कटौती हुने व्यवस्था छ ।
बैंकसम्म पुग्न नसक्ने ग्राहकलाई हायर पर्चेज कम्पनीको सहारा
हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकिङ प्रणालीसम्म सहज पहुँच नभएका ग्राहकलाई हायर पर्चेज कम्पनीले कर्जा उपलब्ध गराउँदै आएको बताए ।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई निश्चित क्षेत्रमा कर्जा प्रवाह गर्न अनुमति दिएको उल्लेख गर्दै उनले सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामग्रीमा समेत कर्जा प्रवाह भइरहेको जानकारी दिए ।
‘हाम्रो लक्षित वर्ग बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने ।
ठाकुरका अनुसार हायर पर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । पछिल्लो कर्जा प्रवाहमध्ये करिब ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा गएको उनले बताए ।
बैंकिङ प्रक्रियाबाट कर्जा लिन समय लाग्ने ग्राहकलाई हायर पर्चेज कम्पनीले तुलनात्मक रूपमा छिटो कर्जा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । आवश्यक प्रक्रिया पूरा भए केही घण्टामै कर्जा प्रवाह गर्न सकिने उनले बताए ।
युवा पुस्तामा बढ्दो अटो कर्जाको आकर्षण
ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएका ग्राहकमा हायर पर्चेज कर्जाको आकर्षण बढिरहेको बताए । उनका अनुसार केही वर्षअघि सवारीसाधन खरिद गर्ने ग्राहकको औसत उमेर ४३ वर्ष आसपास रहेकामा अहिले युवा पुस्ताको सहभागिता बढेको छ ।
‘अहिले ६० प्रतिशत ऋण लिनेहरू ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाको संख्या उल्लेख्य छ,’ उनले भने ।
काठमाडौं अझै अटो कर्जाको प्रमुख बजार भए पनि पछिल्लो समय कर्जा बजार अन्य सहरतर्फ समेत विस्तार हुँदै गएको अर्यालले बताए । स्थिर आम्दानीको स्रोत भएका तथा विद्यार्थीहरूमा समेत सवारीसाधन खरिदप्रतिको आकर्षण बढेको उनको भनाइ छ ।
हायर पर्चेज कम्पनीमार्फत कर्जा प्रवाह गर्दा बैंकलाई समेत सहज हुने उनले बताए । यसले बैंकको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गर्दै उनले आवश्यक सबै कागजात पूरा भएको अवस्थामा बैंकले अर्को दिनमै कर्जा प्रवाह गर्न सक्ने बताए ।
नेपालमा सवारीसाधनको बजार विस्तारसँगै अटो फाइनान्सिङ पनि नयाँ पुस्ता र काठमाडौं बाहिरका बजारतर्फ विस्तार भइरहेकाले आगामी दिनमा कर्जा प्रवाहसँगै जोखिम व्यवस्थापन, बीमा सेवा र ग्राहकको पहुँचलाई अझ प्रभावकारी बनाउनुपर्नेमा संवादका सहभागीले जोड दिएका छन् ।















प्रतिक्रिया