Logo

राजनीति

चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवद्र्धन गर्नुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा यसको प्रवद्र्धन र विकासमा सहयोग गर्ने नीति लिनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको ग्रीन टेबल श्रृङ्खलाको १६औँ कार्यक्रमअन्तर्गत आयोजित ‘चलचित्र बहसः पर्दाभित्र र पर्दाबाहिर’ विषयक छलफलपछि बोल्दै थापाले सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत रहेको बताए ।

उनले राज्यले सम्बन्धित क्षेत्रमा काम गर्ने नागरिक तथा व्यवसायीलाई शंकाको दृष्टिले हेर्नेभन्दा उनीहरूले गर्न खोजेको काममा सहयोग र प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी सबै नेपालको राजनीतिक दलहरूको दृष्टिकोण पायौँ भने जब हामी सरकारको कुर्सीमा बस्छौँ, तब हामीलाई असाध्यै रेगुलेटर हुन मन लाग्छ।

हाम्रो काम भनेको त्यो क्षेत्रमा काम गर्ने मानिसहरूले आवश्यक रूपमा खराब गर्छन्, यिनीहरूले कहीँ न कहीँ राज्यलाई खराब गर्छन्। त्यसकारणले गर्दा हामीले डण्डा बोकेर यसलाई नियन्त्रण गरेर बस्नुपर्छ भन्ने हुन्छ।’

थापाले सरकारको यस्तो नियन्त्रणमुखी सोचका कारण शासन प्रणालीको दृष्टिकोण नै गलत बन्ने गरेको बताए । नागरिकले आफूले काम गर्न खोजेको क्षेत्रमा राज्यबाट प्रवद्र्धन र सहयोगको अपेक्षा गर्ने भए पनि राज्यको दृष्टिकोण नियन्त्रणमुखी हुने गरेको उनको भनाइ थियो ।

विधेयक निर्माणका क्रममा समेत सुरुदेखि नै नियन्त्रण गर्ने सोच हाबी हुने गरेको उनले बताए ।

उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ । प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन् ।’

उनले चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भइसकेको र अहिले प्रतिनिधिसभामा रहेको जानकारी दिँदै विधेयक सुधारका लागि अझै पर्याप्त ठाउँ रहेको बताए ।

उनले भने, ‘चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भयो र अहिले प्रतिनिधिसभामा छ। आजको छलफलले यो विधेयकको विषयमा काम गर्ने ठाउँ रह्यो। आज विशेष कुराहरू आएको छ ।’

चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा प्रवद्र्धन गर्ने गरी विधेयकमा सुधार गर्न सके नेपाललाई चलचित्र निर्माण तथा छायांकनको गन्तव्य मुलुक बनाउन सकिने थापाले बताए ।

उनले भने, ‘यो विधेयकमा अलिकति सुधार ग¥यौँ भने यसमा यो क्षेत्रलाई प्रवद्र्धन गर्ने हो भन्ने कुरा आयो भने सायद नेपाललाई गन्तव्य मुलुक कसरी बनाउने भन्नेदेखि लिएर नेपालबाट यो एक्सपोर्टको कम्युनिटी हो भन्ने विषयसम्मको कुरा आएको छ ।’

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार १९:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।