जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा अस्थायी टहरा भत्काउनुका साथै केही घर जोखिममा परेका छन् ।
घटनालगत्तै घाइतेको उद्धार तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली परिचालन गरिएको छ ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको दुईतले कच्ची घर पूर्णरूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना परिवारका सदस्य भने सुरक्षित रूपमा आफन्तको घरमा बसेका छन् ।
सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्णरूपमा क्षति भएका छन्। ती टहरामा भने मानिस बसोबास नगर्ने जनाइएको छ ।
पहिरोमा परी घाइते हुनेमा भेरी–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा रहेका छन् ।
रामबहादुर शाहीको छाती, टाउको र हातमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नेपालगञ्ज रिफर गरिएको छ । सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ र उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । केदार कार्कीलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
मनवीर चदरा, मनिषा विक र मोतीकला विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। अनिता कार्की, युनिश शाही र सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जनाइएको छ ।
पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।
उनीहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ । घटनास्थलमा पहिरोका कारण भएको क्षति तथा उद्धार कार्यबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया