काठमाडौं । डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिताका लागि नेपाली ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। आइतबार आयोजित कार्यक्रममा १५ सदस्यीय टोलीलाई बिदाइ गरिएको हो।
अगस्ट २१ देखि ३० सम्म हुने टप एन्ड टी–२० प्रतियोगितामा नेपाल ‘ए’ले सहभागिता जनाउनेछ। प्रतियोगिता सकिएपछि पनि नेपाली टोलीले अस्ट्रेलियामा विभिन्न टोलीसँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम छ।
नेपाल ‘ए’ले साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’सँग मैत्रीपूर्ण खेल खेल्नेछ।
अस्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’को नेतृत्व अनिलकुमार साहले गर्नेछन्। टोलीमा त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।
यस भ्रमणलाई नेपाली युवा खेलाडीले अन्तर्राष्ट्रियस्तरको क्रिकेटमा अनुभव हासिल गर्ने अवसरका रूपमा हेरिएको छ।















प्रतिक्रिया