Logo

अर्थ

वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि संघले आफ्ना सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो ।

मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रम मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकारसहितका पदाधिकारीसँग छलफल भएको थियो ।

व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुदे माग अघि सारेका थिए। ती मागको सुनुवाइ नभएको भन्दै आजदेखि व्यवसायीहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयका अनुसार संघले उठाएका अधिकांश माग नीतिगत सम्बोधनसँग सम्बन्धित छन् । ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेत समावेश भइरहेका विषय भएकाले संशोधन प्रक्रियामार्फत सम्बोधन गर्न मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी ऐन तथा नियमावली संशोधनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । व्यवसायीका मागका सम्बन्धमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषयवस्तु पेश गर्न सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ ।

विभागबाट समस्या समाधान हुन नसकेमा सम्बन्धित विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेकाले सोही प्रक्रियाअनुसार समस्या समाधान खोज्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १२:३५   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।