Logo

विविध

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिन पछि रिहा



काठमाडौं । लघुवित्त पीडितको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर अजय सोडारी, प्रकाश बम र सुनिल बिक रिहा भएका हुन् ।

उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा साउन २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । माग गरिएको धरौटी बुझाउन नसकेपछि तीनै जनालाई कारागार पठाइएको थियो ।

त्यसपछि उनीहरू बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले साउन २५ गते उचित धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । उक्त रकमसमेत बुझाउन नसकेपछि उनीहरू थुनामै रहेका थिए ।

जिल्ला प्रशासनको धरौटी आदेशविरुद्ध उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले जनही पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि तीनै जना रिहा भएका हुन् ।

रिहापछि अभियन्ता अजय सोडारीले आन्दोलनमा सहभागी भएकै आधारमा आफूहरूमाथि सरकारले प्रतिशोध साँधेर थुनामा राखेको आरोप लगाए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार २१:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।