Logo

विविध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित ८ जना पक्राउ



काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाइ गाँजासहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय कोटेश्वरबाट खटिएको टोलीले साउन ३१ गते राति उनीहरूलाई पक्राउ गरेको हो। विदेशबाट हवाई मार्ग हुँदै उच्च गुणस्तरको गाँजा नेपाल भित्र्याउने तस्करहरूको ‘प्रोफाइलिङ’ गर्ने क्रममा गरिएको चेकजाँचमा उनीहरूको लगेजबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत नेपाल आएका म्यानमारका पाँच जना नागरिक छन्। उनीहरूमा क्यौक्टानका २३ वर्षीय जार नि लिन, दावेईकी २६ वर्षीया एल एल थवे, क्याङ्गीनका ३९ वर्षीय आउङ बवार, मोलम्येनका ३२ वर्षीय चुवे म्याथवाल सेइन र याङ्गुनका ३२ वर्षीय जिन मियो अउङ छन्।

त्यस्तै, फुकेटबाट बाटिक एयरको उडान नम्बर ओडी ५४१ मार्फत नेपाल आएका भारतको पञ्जाबका तीन जना नागरिक पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय कुशदीप, ३२ वर्षीय गुर्दीप सिंह र २६ वर्षीया कामिनी छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३९.२८८ किलो थाइ गाँजाका साथै आठ थान पासपोर्ट र आठ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार २१:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।