Logo

अन्तर्राष्ट्रिय

इरानसँग तत्काल वार्ताको योजना नभएको ट्रम्पको खुलासा



काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै वार्ता वा छलफलको ठोस योजना नरहेको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँग अहिले कुनै वार्ता वा कुराकानी नभइरहेको र तत्कालका लागि वार्ताको कुनै योजना नरहेको बताएका हुन्।

उनले होर्मुज जलडमरुमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ लागू रहेको दाबी गर्दै जलमार्ग पूर्ण रूपमा खुला र निर्बाध रूपमा सञ्चालनमा रहेको बताएका छन्।

ट्रम्पको यस्तो भनाइ उनका विशेष दूत जारेड कुशनरले ‘फक्स न्युज’सँग अमेरिकी र इरानी सरकारका विभिन्न निकायबीचको संवाद यसअघि भन्दा बढी सक्रिय रहेको बताएपछि आएको हो। यद्यपि, कुशनरले ती वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको संकेत गरेका छन्।

होर्मुज जलडमरुमा तनाव कायमै रहेका बेला अमेरिका र इरानबाट भने परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनेलगायत समझदारीमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ।

कुशनरका अनुसार अमेरिकी र इरानी सरकारका विभिन्न पक्ष तथा विभिन्न तहमा संवाद भइरहेको छ। उनले दुई देशबीचको सम्पर्कलाई अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएका छन्।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।