Logo

अर्थ

भन्सारमा मालवस्तुको ‘पूर्व-आगमन सूचना’ आदान प्रदान गर्न चार देशबीच समझदारी



काठमाडौं । भन्सार मालवस्तुको ‘पूर्व आगामन सूचना’ आदान प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

माल्दिभ्समा आयोजित सासेकको १४औँ भन्सार उपसमूहको बैठकको अवसरमा भदौ ३ गते उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस समझदारीमा सासेकका सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबिच सम्झौता भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागका अनुसार उक्त समझदारीपत्रमा नेपालको तर्फबाट विभागका महानिर्देशक यमलाल भुसालले हस्ताक्षर गरेका छन् । यस समझदारीको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबिच व्यापार हुने मालवस्तुहरूको पूर्व–आगमन सूचना आदान–प्रदान गर्नु रहेको छ।

मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यस्ता सूचना प्राप्त हुने भएकाले प्राप्त सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न र भन्सारको नियन्त्रणलाई थप प्रभावकारी बनाउन यसबाट ठुलो सहयोग पुग्ने भन्सार विभागले जनाएको छ। यसले गर्दा भन्सार जाँचपास प्रक्रिया छिटो र सहज हुनेछ ।

साथै, यस व्यवस्थाले व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घटाउँदै समग्र वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा सरकारले राखेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार १४:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।