काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसायी रूप ज्योतिका नाममा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ।
ज्योति ग्रुपअन्तर्गतको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले बैंकबाट लिएको कर्जा निर्धारित समयमा चुक्ता नगरेपछि बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो।
बैंकले कर्जा असुलीसम्बन्धी प्रक्रियाअन्तर्गत ज्योतिका नाममा ३५ दिने सूचना प्रकाशन गरेको जनाएको छ। सूचनामा तोकिएको अवधिभित्र बैंकको कर्जा तथा त्यससँग सम्बन्धित दायित्व चुक्ता गर्न आग्रह गरिएको छ।
एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा लामो समयदेखि नियमित नभएपछि बैंकले सार्वजनिक सूचना निकालेर ऋणीलाई दायित्व फरफारक गर्न ताकेता गरेको हो।
बैंकिङ क्षेत्रमा कर्जा असुलीका लागि धितो लिलामी वा अन्य कानुनी प्रक्रिया अघि बढाउनुअघि ऋणीलाई सार्वजनिक सूचनामार्फत कर्जा चुक्ता गर्न समय दिने अभ्यास छ। सोही प्रक्रियाअनुसार बैंकले ३५ दिनको समय दिएको हो।
ज्योति ग्रुप नेपालका पुराना व्यावसायिक घरानामध्ये एक हो। ग्रुपअन्तर्गत विभिन्न औद्योगिक तथा व्यावसायिक कम्पनी सञ्चालनमा छन्। बैंकले दिएको ३५ दिनभित्र कर्जा चुक्ता नभएमा प्रचलित कानुन तथा बैंकिङ प्रक्रियाअनुसार थप कदम अघि बढ्न सक्नेछ।
















प्रतिक्रिया