काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन रोक्न आफूले शुक्रबार सर्वोच्च अदालतमा कुनै रिट दायर नगरेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले आफ्नो नाम वा पक्षबाट सर्वोच्च अदालतमा रिट दर्ताका लागि नगएको बताएका हुन्। महाधिवेशन रोक्न अदालत पुगेको र सर्वोच्चले विभिन्न कारण देखाउँदै रिट दर्ता नगरेको भन्ने समाचारप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले संवेदनशील विषयमा अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न र सामाजिक सञ्जालमार्फत भ्रम नफैलाउन आग्रह गरेका छन्।
खड्काका अनुसार सर्वोच्च अदालतमा पुनरावलोकनका लागि दिएको निवेदनमा निस्सा प्राप्त भइसकेको छ।
तर, विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने गरी हालै गरेको निर्णय पार्टी एकताको ऐतिहासिक आवश्यकता तथा सर्वोच्च अदालतको आदेशविपरीत रहेको उनको दाबी छ।
सर्वोच्च अदालतले पुनरावलोकन निवेदनको अन्तिम टुंगो नलगाएसम्म कांग्रेसको १५ औँ महाधिवेशनसम्बन्धी सबै प्रक्रिया रोक्न माग गर्दै आफूहरू कानुनी बाटोमा जाने उनले बताएका छन्।
यस विषयमा कानुन व्यवसायीसँग गम्भीर परामर्श भइरहेको जानकारी दिँदै खड्काले छिट्टै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने पनि स्पष्ट पारेका छन्।
















प्रतिक्रिया