काठमाडौं । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले शनिबार सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको दाबी गर्दै अमेरिकाले आफ्नो व्यवहार सच्याएर प्रतिबद्धता पूरा गरेपछि मात्रै यो मार्ग खोलिने बताए ।
उनले अमेरिकाले सैन्य विकल्पबाट अपेक्षित परिणाम हासिल गर्न नसकेपछि अहिले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब बढाउन खोजिरहेको आरोप लगाए ।
उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही महिनाको आर्थिक नाकाबन्दीले इरानलाई झुकाउन सकिने आश्वासन दिएका थिए ।
रेजाइले इरानले वर्षौंदेखि प्रतिबन्ध छल्ने उपाय विकास गरिसकेको र तेल निर्यात जारी राख्न सक्ने दाबी पनि गरे । साथै, पश्चिम एसियामा युद्ध अन्त्य चाहने आफ्नो देशले बाह्य दबाबका बाबजुद आत्मरक्षा जारी राख्ने चेतावनी दिए ।
उनले होर्मुज जलमार्ग व्यवस्थापन गर्ने अधिकार इरानसँग रहेको दाबी गर्दै फारसी खाडीको आधाभन्दा बढी तट इरानको भएकाले त्यस क्षेत्रको सुरक्षामा आफ्नो भूमिका निर्णायक हुने बताए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ अभियान घोषणा गर्दै तेल तस्करी सञ्जाल, वित्तीय कारोबार, विनिमय गृह, जहाज दर्ता र आवरण कम्पनीहरूलाई लक्षित गरेर कडा आर्थिक कारबाही गर्ने बताएका थिए । उनले होर्मुज जलमार्ग ‘अमेरिकी क्षेत्र’ भएको दाबी गर्दै अमेरिकाले त्यहाँ पूर्ण नियन्त्रण कायम गरेको पनि बताएका थिए ।
ट्रम्पको उक्त अभिव्यक्तिलाई इरानले अस्वीकार गरेको छ । इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले अमेरिकाको दाबीलाई परिस्थितिले वा इरानले नै सच्याउने प्रतिक्रिया दिएका छन् ।
संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि अमेरिकाले १४ बुँदे समझदारीअनुसार आर्थिक नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेलमाथिका प्रतिबन्ध खुकुलो नबनाएसम्म जलमार्ग नखोल्ने बताएका छन् ।
यता अमेरिकी ऊर्जा सचिव क्रिस राइटले अमेरिकी नौसेनाको सुरक्षामा होर्मुज जलमार्गबाट मंगलबार मात्रै १ करोड ५० लाख ब्यारेलभन्दा बढी तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार भएको बताएका छन् । पाइपलाइनमार्फत भएका ढुवानीसमेत जोड्दा क्षेत्रबाट दैनिक करिब २ करोड ब्यारेल ऊर्जा आपूर्ति बाहिरिएको उनको दाबी छ । एएनआई
















प्रतिक्रिया