Logo

अटो

नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र



काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि स्टल निर्माण तथा प्राविधिक तयारी तीव्र पारिएको छ।

भृकुटीमण्डपमा अहिले विभिन्न अटोमोबाइल ब्रान्डका साथै अटो पार्ट्स, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बिमा कम्पनीका स्टल निर्माण भइरहेको छ।

विद्युत् जडान, प्रकाश व्यवस्था, डिजिटल डिस्प्ले र ब्रान्डिङको काम पनि सँगसँगै अघि बढाइएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

नाडाका अनुसार यस वर्षको अटो शो संस्थाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।

प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी हुनेछन्। विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवा प्रदर्शनीका प्रमुख आकर्षण हुने आयोजकको भनाइ छ।

अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणका लागि करिब ७० वटा स्टल छुट्याइएको छ। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहनेछ।

यसपटकको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन राखिने भएको छ। उक्त पभेलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ।

नाडाले अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर सिर्जना गर्ने जनाएको छ।

प्रदर्शनीमार्फत नेपाली बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाका साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आगामी सम्भावनाबारे जानकारी लिन सकिने आयोजकको अपेक्षा छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार १९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।