Logo

समाचार

काठमाडौं–तराई/मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु



काठमाडौं।  निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित द्रुतमार्गमा आइतबार दिउँसो दुर्घटना भएको हो।

मृत्यु हुनेमा चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा सुपरभाइजरका रूपमा कार्यरत ५१ वर्षीय गुओ फाङशुन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काम गर्ने क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरको पछाडिको चक्काले गुओलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका गुओको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार गुओ सन् २०२६ फेब्रुअरी १५ देखि उक्त कम्पनीमा सुपरभाइजरका रूपमा कार्यरत थिए।

दुर्घटनापछि प्रहरीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको छ। गुओको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार १९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।