काठमाडौं । नेपाली कांग्रेसले सेयर बजारको वर्तमान अवस्था, समस्या र सुधारका उपायबारे अर्थशास्त्री तथा पुँजी बजारका विज्ञसँग छलफल थालेको छ।
पार्टीभित्र र संसदमा आर्थिक विषयलाई तथ्यमा आधारित ढंगले उठाउन सांसद तथा पार्टीका कर्मचारीलाई आर्थिक रूपमा साक्षर बनाउने उद्देश्यले परामर्श सुरु गरिएको कांग्रेस सभापति गगन थापाले बताएका छन्।
आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृंखलाअन्तर्गत आयोजित कार्यक्रममा थापाले निर्वाचनपछि सेयर बजारले अपेक्षित गति लिन नसकेको बताए। निर्वाचनपछि बजारमा उत्साह आउने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको उनको भनाइ थियो।
‘निर्वाचन पछाडि सेयर बजार अत्यन्त राम्रोसँग अगाडि जाला भन्ने अनुमान थियो, तर दुर्भाग्यवश जसरी जानुपर्ने हो, त्यसरी जान सकिरहेको छैन,’ थापाले भने।
सेयर बजारले अपेक्षित गति लिन नसक्नुका कारण, बजारका समस्या तथा तत्काल गर्नुपर्ने सुधारबारे विज्ञबाट सुझाव लिइएको उनले बताए।
थापाका अनुसार सुवर्ण शमशेर इकोनोमिक सिरिजलाई तीनवटा क्षेत्रमा केन्द्रित गरेर अघि बढाइनेछ। संसद् र सडकमा बहस भइरहेका समसामयिक आर्थिक विषयमा छलफल गर्ने, दीर्घकालीन तथा सैद्धान्तिक आर्थिक विषयमा विदेशी विज्ञसमेत सहभागी गराएर बहस गर्ने र नयाँ पुस्तालाई आर्थिक मुद्दासँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ।
नयाँ पुस्ताका लागि फेलोसिप कार्यक्रम सञ्चालन गर्नुका साथै पार्टीभित्र आर्थिक विषयमा नयाँ ज्ञान र बहसको विकास गर्ने उद्देश्यसमेत रहेको थापाले बताए।
कार्यक्रममा विज्ञहरूले प्रस्तुत गरेका विषय र दिएका सुझावलाई कांग्रेसको विज्ञ टोलीले संकलन गर्नेछ। ती सुझावका आधारमा प्रतिवेदन तयार गरी पार्टीका सांसदहरूलाई उपलब्ध गराइने थापाले जानकारी दिए।
‘हाम्रा सांसदहरूले संसदमा कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउन सकून् भनेर हामीले यो गृहकार्य गरेका हौँ,’ उनले भने।
डा. गोविन्द पोखरेलको संयोजनमा भएको कार्यक्रममा अर्थशास्त्री, पुँजी बजारका विज्ञ तथा कांग्रेसका नेताहरू सहभागी थिए।
थापाले कांग्रेस अब राजनीतिक नारामा मात्र सीमित नभई आर्थिक समृद्धिका ठोस एजेन्डा निर्माणमा केन्द्रित हुने बताए। त्यसका लागि विज्ञहरूसँग सहकार्य गर्दै आर्थिक नीति र कार्यक्रम निर्माणलाई अघि बढाउने उनको भनाइ थियो।
















प्रतिक्रिया