कैलाली । चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर शनिबार बेपत्ता भएका युवकको शव आइतबार फेला परेको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–३ ठेकीलाका २२ वर्षीय खगराज पन्त घुम्नका लागि झरना पुगेका बेला चिप्लिएर खसेपछि बेपत्ता भएका थिए।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको टोलीले झरनासहित आसपासका क्षेत्रमा खोजी थालेको थियो। खोजीका क्रममा झरनाबाट करिब ५ सय मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले बताए।
पन्त धनगढीस्थित डेनित इन्स्टिच्युटमा कोरियन भाषा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि धनगढी पठाइएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेपछि चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ। झरना क्षेत्रमा चिप्लो सतहसँगै जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
















प्रतिक्रिया