काठमाडौं । नेकपा एमालेका नेता माधव ढुङ्गेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट राजनीतिक विचार, दर्शन र नीति सार्वजनिक गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
उनले बहुदलीय व्यवस्थामा स्वतन्त्र तथा गैरदलीय उम्मेदवारको अवधारणाले राजनीतिक दल र विचारमा आधारित लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताएका हुन् ।
मंगलबार राष्ट्रिय प्रेस क्लबमा आयोजित समसामयिक राजनीतिक विषयसम्बन्धी अन्तक्र्रियामा बोल्दै ढुङ्गेलले स्थानीयदेखि प्रदेश र संघीय तहसम्म हुने निर्वाचनमा राजनीतिक दल, विचार र दृष्टिकोणले प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
‘यो बहुदलीय व्यवस्था हो। यो लोकतन्त्र हो। यहाँ विचारहरूको फुलबारी हुन्छ। अनि दलभित्र बहुदलीय व्यवस्थाभित्र गैरदलीय मान्छे खोज्ने को लोकतन्त्रवादी हो यहाँ ? त्यसले ठूलो लोकतन्त्रको कुरा गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।
ढुङ्गेलले राजनीतिक दलभित्र विचार, दर्शन, बहस र अन्तरक्रिया हुनुपर्ने भन्दै दलले आफ्ना कमजोरी सुधार गर्दै समयअनुकूल विचारलाई परिमार्जन गर्नुपर्ने बताए । उनका अनुसार राजनीतिक दलले नै देश सञ्चालन गर्नु लोकतन्त्रको आधारभूत मान्यता हो ।
मन्त्री बनेपछि दलको नेता भए पनि राज्यको जिम्मेवारी सम्हाल्दा सबै नागरिकको प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
‘म आज दलको मान्छे हुँ। म एउटा पार्टीको मान्छे हुँ। तर मैले मन्त्री भएर मन्त्रीको कुर्सीमा बसेपछि म देशको मान्छे हुँ। मैले त्यो दुईटा क्यारेक्टर देखाउन सक्नुपर्छ,’ उनले भने ।
उनले अहिलेको संसद्मा प्रतिपक्ष कमजोर रहेको भन्ने टिप्पणीप्रति पनि असहमति जनाउँदै संसद्मा रहेको संख्याका आधारमा सत्तापक्षसँग पर्याप्त शक्ति रहेको बताए । अहिलेको संसद्लाई संविधान संशोधनलगायत महत्वपूर्ण निर्णय गर्न सक्ने अवस्था जनताले दिएको उनको भनाइ थियो ।
ढुङ्गेलले पछिल्लो समय युवाको नेतृत्व र अनुभवविहीन व्यक्तिले शासन सञ्चालन गर्न सक्ने भन्ने भाष्यप्रति पनि प्रश्न उठाए । उनले राज्य सञ्चालनका लागि संविधान, कानुन, लोकतान्त्रिक मूल्य र शासनका मर्यादा बुझ्ने अनुभव आवश्यक रहेको बताए ।
‘अनुभव चाहिन्छ है। संविधान जान्नुपर्छ, कानुन जान्नुपर्छ, मर्यादा जान्नुपर्छ, लोकतन्त्र सिक्नुपर्छ, लोकतन्त्रका नम्र्सहरू राम्रोगरी जान्नुपर्छ। त्यो जान्ने मान्छे नै मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्नुपर्छ,’ उनले भने ।
उनले काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउनु मात्र समाधान नभएको टिप्पणी गर्दै विस्थापितहरूको व्यवस्थापनबारे प्रश्न उठाए ।
‘डोजर लाउन त सजिलो छ नि । एउटा डोजरले सारा सबै भताभुङ्ग पार्दिन्छ नि। बनाउन ती बिल्डिङहरू कति गाह्रा थिए थाहा छ नि? ती बिल्डिङको कसरी उपयोग गर्ने, त्यसको पछिल्लो निकास के हो भन्ने कुरा हेक्का राखेर हटाउनु भएको भए त आज सबैको व्यवस्थापन भइसक्थ्यो,’ उनले भने ।
ढुङ्गेलले रास्वपाले आफूलाई कम्युनिस्ट वा वामपन्थी नभएको बताउँदै आए पनि पार्टीको स्पष्ट राजनीतिक दर्शन र विचार के हो भन्ने प्रश्न गरे । उनले रास्वपाभित्र विभिन्न राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको समूह रहेको टिप्पणी गर्दै त्यसले पार्टीको वैचारिक आधार स्पष्ट नबनाएको दाबी गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको विचार के हो ? के हो परराष्ट्र नीति बताइदिनुस् त मलाई ? के हो अर्थनीति ? के हो शिक्षा नीति ? के हो स्वास्थ्य नीति ?’ उनले प्रश्न गरे ।
रास्वपाले पाँच वर्ष स्थिर रूपमा सरकार सञ्चालन गर्न सक्छ भन्ने विश्वास सिर्जना गर्न नसकेसम्म देशभित्र र बाहिरबाट लगानीको वातावरणसमेत प्रभावित हुने उनको दाबी थियो ।
‘विदेशीबाट लगानी किन आउँदैन भने तपाईंको पार्टीले पाँच वर्ष धानेर देश चलाउँछ भन्ने विश्वास न विदेशीलाई छ न देशभित्रका कसैलाई छ,’ ढुङ्गेलले भने ।
यस्तै, कार्यक्रममा रास्वपाका नेता प्रकाशचन्द्र परियारले भने पुराना राजनीतिक दलहरूले नेपाली जनताको विश्वास गुमाइसकेको दाबी गर्दै रास्वपालाई काम गर्ने अवसर दिनुपर्ने बताए ।
उनले जेन–जी विद्रोहपछि पुराना दलप्रति प्रश्न उठिरहेको उल्लेख गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको यात्रामा ती दलहरूले खेलेको भूमिकाप्रति भने सम्मान व्यक्त गरे ।
‘नेपाली जनताले ‘तिमीहरूले काम गरेनौ, नेपाललाई तन्नम गरिबीको रेखामुनि छोड्यौ, भाग शान्ति जय नेपाल, मिलीभगत लालसलाम’ शैलीबाट नेपाललाई लात्तै भकुन्डो खेल्यौ भनेर नेपाली जनताले दण्ड दिइसकेका छन्,’ परियारले भने ।
उनले पुराना दलहरूले विकास र सुशासनमा कमजोरी गरे पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि खेलेको भूमिकाप्रति कृतज्ञ रहेको बताए ।
परियारले पुराना दलहरूले निर्माण गरेको राजनीतिक ‘ट्र्याक’मा रास्वपाको गाडी अघि बढिरहेको टिप्पणी गरे ।
‘ट्र्याक कसले खोल्छ ? डोजरले खोल्छ । खोलिसकेको ट्र्याकमा सधैँ डोजर कुद्यो भने के हुन्छ ? त्यसले काम गर्दैन । परम्परागत दलहरूले खोलेको ट्र्याकमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाडी कुद्छ,’ उनले भने ।
उनले रास्वपा पनि प्रश्नभन्दा बाहिर नरहेको स्वीकार गर्दै पार्टी र सरकारका कामप्रति निरन्तर निगरानी गर्न सञ्चारमाध्यम र नागरिकलाई आग्रह गरे ।
‘हाम्रो कार्यादेश के हो ? माथिबाट फुत्त आएको हो कि भन्ने अहङ्कार आयो भने खबरदारी गर्न नेपाली मिडिया र आलोचनात्मक चेत भएका सम्पूर्ण नागरिकलाई अपिल गर्दछु,’ परियारले भने ।
उनले सरकारमा आएपछि पनि दैनिक ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि देश छाडिरहेको यथार्थ रास्वपाले बुझेको बताए । तत्कालै सबै समस्या समाधान गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि नयाँ सरकारलाई काम गर्ने समय दिनुपर्ने उनको भनाइ थियो ।
परियारले सञ्चारमाध्यमलाई रास्वपाको कामलाई निरन्तर निगरानी गर्नसमेत आग्रह गरे ।
‘हामीलाई माइक्रोस्कोपले हेरिदिनुस् नेपाली मिडिया। रचनात्मक खबरदारी गरिदिनुस्। निरन्तर निगरानी गरिदिनुस्,’ उनले भने ।
उनले वर्तमान राजनीतिक परिवर्तनलाई ‘अभूतपूर्व मत क्रान्ति’को संज्ञा दिँदै यस्तो अवसर पटक–पटक नआउने बताए ।
















प्रतिक्रिया