काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे छ ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाडाले उक्त आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।
नाडाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैव राज्यको साथमा उभिने प्रतिबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्न आह्वान गरिएको छ।
विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय र स्थानीय प्रशासनले देखाएको तत्परताको नाडाले सराहना गरेको छ। विशेष गरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र माननीय गृहमन्त्री सुदन गुरुङले प्रभावित जिल्लाका बासिन्दालाई सुरक्षित राख्न तथा विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई समेत साथ दिन गर्नुभएको आह्वानप्रति नाडाले उच्च कदर गर्दै सहयोगमा निरन्तर खट्ने प्रतिबद्धता जनाएको छ।
विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट मात्र प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।
साथै, यो महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको भए तापनि देशको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने भएकाले प्रदर्शनी निरन्तर सञ्चालनमा रहने नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले जानकारी दिए।
नाडाले सबैलाई आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्दै आर्थिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन समेत अपिल गरेको छ।
















प्रतिक्रिया